पुस्तकालय दर्पण अंक–२ विमोचन

भक्तपुर, मङ्सिर २७, २०८२ ।
नेपाल पुस्तकालय संघको नियमित म्यागेजिन पुस्तकालय दर्पण को दोस्रो अंक विमोचन गरिएको छ । पुस्तकालय विज्ञान तथा शिक्षामा पुस्तकालयको भूमिका र महत्व प्रवर्द्धन गर्ने उद्देश्यले संघले गत वर्षदेखि म्यागेजिन प्रकाशन सुरु गरेको हो ।

विमोचन कार्यक्रममा नेपाल सरकार, शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय अन्तर्गत विद्यालय शिक्षा महाशाखाका प्रमुख रुद्रप्रसाद अधिकारी, अग्रज पुस्तकालय विज्ञ रुद्रप्रसाद दुलाल, केसर पुस्तकालयका प्रमुख यादवचन्द्र निरौला, शिक्षा मन्त्रालय पुस्तकालय समन्वय तथा अभिलेख शाखाका प्रमुख प्रेमराज अधिकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका उपसचिव अरुण कुमार राई, त्रिभुवन विश्वविद्यालय पुस्तकालय तथा सूचना विज्ञान केन्द्रीय विभागकी प्रमुख लीला न्याईंच्याईं तथा नेपाल लाइब्रेरी फाउण्डेशनका निर्देशक यज्ञराज भट्टले पुस्तकालय साहित्यको अभाव, लेखन संस्कृति र सम्भावनाका विषयमा विचार व्यक्त गर्नुभएको थियो ।

म्यागेजिनका प्रधान सम्पादक रमेश निरौलाले पुस्तकालय साहित्यको खडेरी पूर्ति गर्न लेखन र प्रकाशनलाई प्रोत्साहन गर्नु आवश्यक रहेको बताउँदै पुस्तकालय दर्पण लेख्न, बहस गर्न र विचार परिमार्जन गर्न उपयुक्त माध्यम भएको उल्लेख गर्नुभयो । अग्रज पुस्तकालयविद् रुद्रप्रसाद दुलालले ज्ञान उत्पादन र व्यवस्थापनका लागि पुस्तकालय सधैँ आवश्यक रहने स्पष्ट पार्दै आधुनिक प्रविधिले पुस्तकालय जनशक्ति विस्थापन गर्ने भन्ने भ्रम पछ्याउनु नहुने धारणा राख्नुभयो । उहाँले ज्ञानको वैज्ञानिक व्यवस्थापन मानव संसाधनबाट मात्र सम्भव हुने बताउनुभयो ।

पुस्तकालय दर्पण अंक–२ मा नेपाली र अङ्ग्रेजी भाषामा विभिन्न विज्ञका १८ वटा सम्पादित लेख समेटिएका छन् । म्यागेजिन वर्षमा दुई पटक नियमित रूपमा प्रकाशन हुने भएकाले पुस्तकालय तथा सूचना विज्ञान क्षेत्रका सरोकारवालालाई लेखन र प्रकाशनमा सक्रिय सहभागिताका लागि आह्वान गरिएको छ ।

कार्यक्रमकै अवसरमा नेपाल पुस्तकालय संघको आयोजना तथा केसर पुस्तकालयको समन्वयमा सञ्चालन गरिएको तीन महिने आधारभूत पुस्तकालय व्यवस्थापन तालिमका सहभागीलाई प्रमाणपत्र वितरण गरिएको थियो । अनलाइन तथा भौतिक दुवै माध्यमबाट सञ्चालन गरिएको तालिमबाट ४२ जना सहभागी दीक्षित भएका थिए ।

नेपाल पुस्तकालय संघका अध्यक्ष पुष्पराज सुवेदीले तालिममा सहभागीहरूलाई बधाई तथा शुभकामना व्यक्त गर्दै समयसापेक्ष नयाँ प्रविधिमा आधारित भई नेपाली पुस्तकालय क्षेत्रमा अझै धेरै काम गर्न बाँकी रहेको बताउनुभयो । तालिमबाट प्राप्त ज्ञान र सिप कार्यक्षेत्रमा व्यवहारिक रूपमा लागू गर्न कुनै कठिनाइ आएमा सहजीकरणका लागि संघ सधैँ तयार रहेको उहाँको भनाइ थियो । अध्यक्ष सुवेदीले पुस्तकालय दर्पण अनुभवी विज्ञ समूहद्वारा सम्पादन हुने भएकाले यसको गुणस्तर र निय मित प्रकाशनप्रति नेपाल पुस्तकालय संघ पूर्ण रूपमा प्रतिबद्ध रहेको स्पष्ट पार्नुभयो ।

  • nlanews

    Related Posts

    नेपाल पुस्तकालय संघ गण्डकी प्रदेशको तर्फ बाट दुई दिने पुस्तकालय व्यवस्थापन तालिम सम्पन्न 

    पोखरा, मङ्सिर २८, गण्डकी प्रदेश प्रशिक्षण प्रतिष्ठान, पोखरा र नेपाल पुस्तकालय सङ्घ, गण्डकी प्रदेशको संयुक्त आयोजनामा दुई दिने पुस्तकालय व्यवस्थापन तालिम पोखरामा सफलतापूर्वक सम्पन्न भएको छ। पोखरा सार्वजनिक पुस्तकालय, नयाँबजार,…

    Global Library Summit 2025: A Landmark Event in Library Diplomacy

    New Delhi, February 5-7, 2025 – The much-awaited Global Library Summit 2025 commenced at the South Asian University, New Delhi, bringing together scholars, librarians, and information professionals from across the…

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *