
कुनै पनि सर्जकलाई उसको मौलिक एवम् बौद्धिक सृजनामा कानूनद्वारा प्रदान गरिने एकलौटी अधिकार नै प्रतिलिपि अधिकार हो । रचनाकारले तयार पारेको त्यस्तो रचना, जसलाई कानूनले मान्यता दिई विशिष्ट अधिकार प्रदान गरेको हुन्छ । प्रतिलिपि अधिकार ऐन, २०५९ ले रचना भन्नाले साहित्य, कला, ज्ञान–विज्ञान र अन्य क्षेत्रमा मौलिक एवम् बौद्धिक रूपले प्रस्तुत गरिएका सामग्रीलाई मानेको छ । त्यस्ता सामग्रीभित्र किताब, पर्चा, लेख, शोधपत्र, नाटक, नाट्य सङ्गीत, मुक चित्र, मञ्चनका लागि तयार गरिएका रचना, शब्दसहित वा शब्दरहित साङ्गीतिक रचना पर्छन् । त्यसैगरी श्रव्य दृश्य रचना, आर्किटेक्चरल डिजाइन, चित्रकला, पेण्टिङ, मूर्तिकला, काष्ठकला, लिथोग्राफी, आर्किटेक्चरसम्बन्धी रचना, फोटोजन्य रचना, प्रयोगात्मक कलासम्बन्धी रचना, मानचित्र, योजना, भूगोलसम्बन्धी रचना, टोपोग्राफी, वैज्ञानिक लेख रचना र कम्प्युटर प्रोग्राम पनि यसअन्तर्गत पर्छन् । यस्ता रचनालाई प्रतिलिपि अधिकार ऐनले संरक्षण प्रदान गरेको छ ।
प्रतिलिपि अधिकार ऐन, २०५९ ले रचनाकारलाई आर्थिक तथा नैतिक अधिकार प्रदान गरेको छ । आर्थिक अधिकारअन्तर्गत रचनाकारले आफ्नो सृजनाको प्रयोगबाट आर्थिक लाभहरू प्राप्त गर्न सक्दछन् । नैतिक अधिकारचाहिँ व्यक्तिगत प्रकारका हुन्, जसले सर्जक र उसको सृजनाबीच रहेको व्यक्तिगत सम्बन्धलाई स्पष्ट पार्छ । आर्थिक अधिकारअन्तर्गत सर्जकले आफ्ना सृजनाहरूको प्रयोग आफूले चाहेजस्तो गरी गर्न पाउँछन् । विभिन्न स्वरूपमा आफ्नो सृजनाको पुनरुत्पादन गर्न, रचनाको अन्य भाषाहरूमा अनुवाद गर्न, आफ्ना सृजनाको सक्कलप्रति वा प्रतिलिपिको विक्रीवितरण गर्न, प्रदर्शनीमा राख्न, भाडामा दिन, आफ्नो सृजनालाई उपन्यास, नाटक वा चलचित्रमा संयोजन गर्न, आफ्ना सृजनाका प्रतिलिपिहरू आयात गर्न, सार्वजनिक प्रस्तुति गर्ने साथै आफ्नो सृजनाको सार्वजनिक सञ्चार र प्रसारण गर्ने अधिकार आर्थिक अधिकारअन्तर्गत पर्छ ।
यस्तै, नैतिक अधिकारअन्तर्गत आफ्नो रचनाका प्रतिहरूमा वा आफ्नो रचना सार्वजनिक रूपमा प्रयोग गरिएमा त्यस्तो रचनामा आफ्नो नाम उल्लेख गर्न लगाउने, आफ्नो रचनामा वास्तविक नाम उल्लेख नगरी छद्म नाम उल्लेख गरिएको भएमा त्यस्तो रचनाको सार्वजनिक रूपमा प्रयोग गर्दा त्यस्तो छद्म नाम उल्लेख गर्न लगाउने पर्छन् । यसका अतिरिक्त आफ्नो रचनालाई बङ्ग्याई वा विकृत रूपमा प्रस्तुत गरी आफूले आर्जन गरेको सम्मान वा ख्यातिलाई गिराउनेजस्ता कार्य रोक्ने, आफ्नो रचनामा आवश्यक संशोधन वा परिमार्जन गर्नेजस्ता अधिकार पनि प्रतिलिपि अधिकारधनीलाई हुन्छ । त्यस्तो अधिकारको कसैले अनधिकृत प्रयोग गरेमा त्यसलाई रोक्न पाउने अधिकार पनि प्रतिलिपि अधिकारधनीसँग हुन्छ ।
बौद्धिक सम्पत्ति संरक्षणका मुख्य दुई पाटा प्रतिलिपि अधिकार र औद्योगिक सम्पत्ति अधिकारका क्षेत्रमा २०२२ सालमा अलग–अलग कानून बने तापनि औद्योगिक सम्पत्तिको हकमा उद्योग विभागले आफ्नो कार्य अगाडि बढायो भने प्रतिलिपि अधिकारको पाटो हेर्ने स्पष्ट निकायको अभावले ओझेलमा पर्यो । राष्ट्रिय अन्तरराष्ट्रिय जगत्मा भएका प्रतिलिपि अधिकार संरक्षणका प्रयासस्वरूप २०५९ सालमा प्रतिलिपि अधिकार ऐन, २०५९ लागू गरियो । त्यसपछि २०६० चैत २६ मा छुट्टै प्रतिलिपि अधिकार रजिष्ट्रारको कार्यालय पनि स्थापना भयो । सो कार्यालयको उद्देश्य साहित्य, कला, ज्ञान–विज्ञानको क्षेत्रमा साधनारत स्रष्टाको प्रतिलिपि अधिकार र तत्सम्बन्धी अधिकारको प्रभावकारी संरक्षण गर्ने सर्जक वा आविष्कारको धनीको आर्थिक तथा नैतिक अधिकारको संरक्षण गर्ने, प्रतिलिपि अधिकार र तत्सम्बन्धी अधिकारको क्षेत्रमा नेपालले हस्ताक्षर गरी अन्तरराष्ट्रिय सन्धि–सम्झौतामा व्यक्त गरेको प्रतिबद्धता पूरा गर्न आवश्यक कार्य गर्नेलगायत प्रतिलिपि अधिकार संरक्षणमा सघाउ पुर्याउन चेतनामूलक कार्यक्रम सञ्चालन गर्ने रहेका छन् । यसबाहेक प्रतिलिपि अधिकारको दर्ता गर्न, प्रमाणपत्र प्रदान गर्न, विवरण अद्यावधिक गर्न, रोयल्टी सङ्कलन संस्थाको अनुगमन, निरीक्षण, प्रोत्साहन गर्ने, रोयल्टी सङ्कलन संस्थामार्फत रोयल्टी निर्धारण, सङ्कलन र वितरण गराई स्रष्टालाई लाभ पुर्याउने र वितरणमा अनियमितता भई मर्का परेमा त्यसउपर उजुरी सुनी अर्धन्यायिक उपचार दिनेलगायतका उद्देश्य पनि सो कार्यालयको रहेको छ ।
ऐनले कुनै पनि रचनालाई प्रतिलिपि अधिकारको संरक्षण प्राप्त हुने उल्लेख गरेको छ भने ऐनबमोजिम अधिकार प्राप्त गर्न कुनै पनि रचना दर्ता गर्न अनिवार्य छैन । तर, स्वेच्छाले दर्ता गराउन चाहेमा प्रतिलिपि अधिकार रजिष्ट्रारको कार्यालयको रजिष्ट्रारसमक्ष निवेदन दिई दर्ता गर्न सकिन्छ । तर, कुनै विचार, धर्म, समाचार, सञ्चालनविधि, अवधारण, सिद्धान्त, अदालतको फैसला, प्रशासनिक निर्णय, लोकगीत, लोककथा, उखान र सामान्य तथ्याङ्जस्ता कुरालाई व्याख्या वा कुनै रचनामा समावेश गरिएको भए तापनि ऐनले त्यस्ता विषयलाई भने संरक्षण प्रदान गरेको छैन ।
ऐनले रचयितालाई प्राप्त आर्थिक र नैतिक अधिकार रचयिताको जीवनभर र निजको मृत्यु भएमा मृत्यु भएको वर्षबाट ५० वर्षसम्म संरक्षण गर्छ । प्रतिलिपि अधिकारधनीले आफूलाई प्राप्त आर्थिक अधिकारमध्ये सबै वा केही अधिकार लिखित रूपमा सम्झौता गरी अरूलाई हस्तान्तरण गर्न वा प्रयोग गर्न अनुमति दिन पनि सक्छ । यस्तै, नैतिक अधिकार प्राप्त व्यक्तिले आफ्नो मृत्युपछि लागू हुने गरी निजलाई प्राप्त नैतिक अधिकारको संरक्षणका लागि रचनामा आफ्नो नाम नहटाउने शर्तसहित लिखित रूपमा सम्झौता गरी कसैलाई हस्तान्तरण गर्न सक्छ । कसैले संरक्षित प्रतिलिपि अधिकारको उल्लङ्घन गरेमा उल्लङ्घन गर्ने व्यक्तिबाट प्रतिलिपि अधिकार प्राप्त व्यक्तिलाई परेको नोक्सानीको क्षतिपूर्ति भराई जरीवाना र कैदसम्मको सजायको व्यवस्था ऐनले गरेको छ ।
ऐनले व्यक्तिगत प्रयोजनको लागि पुनरुत्पादन गर्न, उद्धरण गर्न, पठनपाठनका लागि पुनरुत्पादन गर्न, पुस्तकालय तथा अभिलेखालयले पुनरुत्पादन गर्न, सर्वसाधारणलाई जानकारी गराउने उद्देश्यले पुनरुत्पादन, प्रसारण गर्न, साथै व्यक्तिगत प्रयोजनको लागि पैठारी गर्न पाउने अवस्थाहरूमा धनीको अनुमतिविना पनि प्रतिलिपि अधिकारप्राप्त सामग्री प्रयोग गर्न पाउने व्यवस्था गरेको छ ।
~ArthikAbhiyaan