पोखरा, मङ्सिर २८, गण्डकी प्रदेश प्रशिक्षण प्रतिष्ठान, पोखरा र नेपाल पुस्तकालय सङ्घ, गण्डकी प्रदेशको संयुक्त आयोजनामा दुई दिने पुस्तकालय व्यवस्थापन तालिम पोखरामा सफलतापूर्वक सम्पन्न भएको छ।
पोखरा सार्वजनिक पुस्तकालय, नयाँबजार, पोखराको सभाहलमा सम्पन्न तालिममा गण्डकी प्रदेशभित्रका सरकारी निकायका पुस्तकालयहरु, पोखरा विश्वविद्यालय, गण्डकी विश्वविद्यालय, गण्डकी बहुप्राविधिक विद्यालय, नेपाल मणिपाल कलेज अफ मेडिकल साइन्सेज, पोखरा वन विज्ञान अध्ययन संस्थान, पश्चिमाञ्चल क्याम्पस, धवलागिरी बहुमुखी क्याम्पस, उच्च अदालत पोखरा, बागलुङ इजलास, राजस्व न्यायाधिकरण पोखरा, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पुस्तकालयलगायत विभिन्न शैक्षिक संस्था, सार्वजनिक तथा सामुदायिक पुस्तकालयबाट ३० जना सहभागीहरूको उपस्थिति रहेको थियो।
तालिमको उद्घाटन गण्डकी प्रदेश प्रशिक्षण प्रतिष्ठान, पोखराका कार्यकारी निर्देशक श्री सुरेन्द्र बाबु तिवारीले गर्नुभएको थियो। उद्घाटन कार्यक्रममा पोखरा सार्वजनिक पुस्तकालयका अध्यक्ष श्री अर्जुन श्रेष्ठले सार्वजनिक पुस्तकालयहरूको संरक्षण र प्रवर्द्धन सबैको साझा दायित्व भएकोमा जोड दिनुभयो।
कार्यक्रममा पोखरा विश्वविद्यालयका सह– प्राध्यापक डा. रबिन्द्र घिमिरेले तालिमबाट प्राप्त ज्ञान र सीपहरूले दैनिक कार्यलाई सहज, छिटो र प्रभावकारी बनाउने बताउँदै यस्ता तालिमहरूले कर्मचारीहरूको वृत्ति विकास र कार्यसम्पादन क्षमतामा सकारात्मक प्रभाव पार्ने उल्लेख गर्नुभयो।
तालिममा पोखरा विश्वविद्यालयका सह– प्राध्यापक डा. रबिन्द्र घिमिरे, वन विज्ञान अध्ययन संस्थानका लाइब्रेरियन सूर्य क्षेत्री, पोखरा विश्वविद्यालयका लाइब्रेरियन दुर्गा प्रसाद आचार्य, पृथ्वी नारायण बहुमुखी क्याम्पसका लाइब्रेरियन किशोर सुबेदी तथा गण्डकी प्रदेश प्रशिक्षण प्रतिष्ठानका तालिम संयोजक सुवर्ण आचार्यले सहजीकरण गर्नुभएको थियो। नेपाल पुस्तकालय संघ गण्डकी प्रदेशको तर्फ बाट सचिव भुवन ढकाल तथा प्रशिक्षण प्रतिष्ठानका तर्फ बाट सुवर्ण आचार्यले कार्यक्रमको संयोजन गर्नुभएको थियो । तालिम मंशिर २६ र २७ गते गरि दुइदिन संचालन गरेको थियो ।
तालिम समापन समारोहमा सहभागीहरूको तर्फबाट नेपाल मणिपाल कलेज अफ मेडिकल साइन्सेजका सहायक प्रबन्धक खिम लामिछाने काजीले तालिमले आधुनिक पुस्तकालय सञ्चालन, स्रोत–साधनको प्रभावकारी उपयोग, सेवा प्रवाहको गुणस्तर अभिवृद्धि तथा पाठक–मैत्री वातावरण सिर्जनामा महत्वपूर्ण योगदान पुर्याएको बताउनुभयो। तालिमबाट प्राप्त ज्ञान र सीपहरू संस्थागत पुस्तकालयमा व्यवहारिक रूपमा प्रयोग गर्न सकिने भएकाले पुस्तकालय व्यवस्थापन अझ व्यवस्थित, प्रविधिमैत्री र दिगो बन्ने विश्वास उहाँले व्यक्त गर्नुभयो।
समापन समारोहमा वोल्दै नेपाल पुस्तकालय सङ्घ गण्डकी प्रदेशकी अध्यक्ष मीनकुमारी डल्लाकोटीले तालिममा सहभागीहरूलाई शुभकामना व्यक्त गर्दै समयसापेक्ष नयाँ प्रविधिमा पुस्तकालयकर्मीहरू अभ्यस्त भई कार्यशैलीमा परिवर्तन गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो। उहाँले तालिमबाट प्राप्त ज्ञान र सीपहरू आफ्ना–आफ्नो कार्यक्षेत्रमा व्यवहारिक रूपमा लागू गर्न आग्रह गर्नुभयो। साथै, पुस्तकालय सेवाको गुणस्तर अभिवृद्धिका लागि कर्मचारीहरू निरन्तर नयाँ कुरा सिक्न उत्प्रेरित हुनुपर्नेमा जोड दिनुहुँदै आगामी दिनमा पनि अन्य सहयोगी संघ–संस्थासँग सहकार्य गर्दै गण्डकी प्रदेश प्रशिक्षण प्रतिष्ठानसँग आवश्यकक परे सहकार्य गरि निरन्तर रूपमा अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।
समापन समारोहका प्रमुख अतिथि गण्डकी विश्वविद्यालयका कुलपति प्रा. डा. इन्द्र प्रसाद तिवारीले समयानुसार पुस्तकालयलाई अद्यावधिक गर्नुपर्ने आवश्यकता औँल्याउँदै अनुसन्धान तथा अध्ययन प्रक्रियामा पुस्तकालयकर्मीहरूको भूमिका अत्यन्त महत्वपूर्ण रहेको बताउनुभयो। साथै, गण्डकी प्रदेश प्रशिक्षण प्रतिष्ठानका कार्यकारी निर्देशक श्री सुरेन्द्र बाबु तिवारीले जीवनमा उत्प्रेरणा कायम राख्न र मनोबल उच्च बनाउन आवश्यक व्यवहारबारे आफ्ना विचार प्रस्तुत गर्नुभयो।
समारोहको अन्त्यमा सहभागी सम्पूर्ण प्रशिक्षार्थीहरूलाई प्रमाणपत्र वितरण गरिएको थियो। कार्यक्रमको अन्त्यमा नेपाल पुस्तकालय संघ गण्डकी प्रदेश को तर्फ वा प्रमुख अथिति तथा अततिथीलाइ अध्यक्ष मीन कुमारी डल्लाकोटीले मायाको चिनो प्रदान प्रदान गर्नुभयो ।




